News Griha :: न्यूजगृह
महेन्द्रनगरमा शहीद भीमदत्तको सालिक तोडफोड, १८ जना पक्राउ

काठमाडौं— कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको शहीद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका प्रदर्शनकारी प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा उनीहरूले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।

राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले सालिक तोडफोडमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका मुद्दामा नाराबाजीसमेत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १९:१५
Weather Update