
काठमाडौं— श्रीमान जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले रामेछापको मन्थली नगरपालिका- ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र सोही वडाकी निर्मला खत्रीविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।
खत्रीका श्रीमानले नै आफू जीवितै हुँदै मृत्यु दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो ।
छानबिनमा क्रममा महतो र खत्रीको मिलेमतोमा नक्कली मृत्यु दर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले उनीहरूलाई त्यो रकम बिगो मानी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।













