
काठमाडौं— काठमाडौंमा बिहीबार नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले शक्ति प्रदर्शन गरेका छन् ।
निकै चासोपूर्वक हेरिएको दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का समर्थकहरूले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरे । प्रदर्शन स्थलमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।

युवा संघले तीनकुनेमा आयोजना गरेको प्रदर्शन भन्दा बल्खुको प्रदर्शन हिंसात्मक देखियो । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले छुट्टाछुट्टै स्थान तोकेर माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा ९ हजार भन्दा धेरै प्रदर्शनकारी सहभागी भएको रिपोर्ट सुरक्षा निकायले गृह मन्त्रालयमा बुझाएका छन् । गृह मन्त्रालयका एकजना उच्च अधिकृतले भने, ‘बल्खुमा ९ हजार भन्दा केही बढी प्रदर्शनकारी सहभागी भएको रिपोर्ट सुरक्षा निकायको छ ।’ तीनकुनेमा युवा संघले गरेको प्रदर्शनमा ७ हजारको सङ्ख्यामा सहभागिता रहेको सुरक्षा निकायको आकलन छ । ती अधिकृतले भने, ‘युवा संघको कार्यक्रममा ७ हजार हाराहारीमा सहभागिता रहेको आकलन छ ।’

३ पटक झडप
बल्खुमा दुर्गा प्रसाईंका समर्थक र युवा संघका कार्यकर्ताबीच एकपटक र प्रहरीसँग दुई पटक झडप भएको छ । प्रदर्शन सुरु हुनुअघि नै बल्खु चोकमा प्रसाईं समर्थक समूह र युवा संघका कार्यकर्ता बिच झडप भएको हो ।
कीर्तिपुरबाट तीनकुनेतर्फ आउँदै गरेका युवा संघका कार्यकर्तालाई प्रसाईं समर्थक सन्तोष राजावादी सहितका युवाहरूले ढुंगा हानेपछि झडपको अवस्था आएको प्रहरी स्रोतको दाबी छ । बल्खु स्थित पुलमा भएको सो ढुंगा हानाहानबाट केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।

दुर्गा प्रसाईंले प्रदर्शन स्थलमा सम्बोधन गरेर हिँडेपछि आन्दोलनकारी र प्रहरीसँग भने दुई पटक झडप भयो । सुरक्षा कर्मीको घेरा तोडेर प्रदर्शनकारीहरू कालिमाटी तर्फ जान खोजेपछि झडपको अवस्था आएको हो ।
प्रहरीको घेरा तोडेर प्रदर्शनकारी कालिमाटी तर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेर रोकेको थियो । आन्दोलनकारी चढ्ने गाडीको साँचो पनि प्रहरीले खोसेको आरोप छ ।

त्यसपछि प्रदर्शनकारी बल्खु पुलबाट एकान्तकुनातर्फ, कीर्तिपुर त्रिवि गेटतर्फ र कलङ्कीतर्फ तितरबितर भए । तर, केहीबेरमा फेरी कालीमाटी जाने मोडमा फेरी झडप सुरु भयो । उक्त झडपमा प्रहरीले पानीको फोहरा हानेर स्थिति नियन्त्रणमा लियो । स्थिति नियन्त्रणमा लिन १५७ सेल अश्रुग्यास र १ राउन्ड रबर बुलेट प्रहार गरिएको प्रहरी स्रोतको भनाई छ ।
