News Griha :: न्यूजगृह
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं— निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको छ ।

बिहीबार माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटेर मिति प्रस्ताव गरेको हो ।

प्रधानमन्त्रीले पनि आयोगले तोकेअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता पौडेलले बताए ।  फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम रिक्त हुने समयभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

सो अनुसार आयोगले सरकारलाई आज मिति प्रस्ताव गरेको हो । माघ १५ गतेभित्रै राष्ट्रिय सभा सदस्यको पदपूर्ति गर्न आयोगले त्यसदिन मिति तोकेको हो ।  

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १६:१५
Weather Update