-1700733987.png)
काठमाडौं— नेकपा एमाले नेता महेश बस्नेतले दुर्गा प्रसाईँ समूहको प्रदर्शनलाई कटाक्ष गरेका छन् ।
उनले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताएका छन् । बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रसाईं समूहलाई ठिक ठाउँमा बस्न चेतावनी दिए ।
उनले भने, ‘हामीले भनेका थियौ हाम्रो कार्यक्रम बाघको जस्तो हुन्छ र दुर्गा प्रसाईँको कुकुरको जस्तो लम्पसार पर्छ भनेर । मान्छेले पत्याएका थिएनन् । आज हावा फुस्केको छ । भोलिदेखि ठिक ठाउँमा बस । हामी सल्लाह गर्दैछौ, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौँ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३२ सिटे पार्टी भन्दै व्यंग्य गरे । आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाएमा सिंहदरबारको कुर्सीबाट हटाएर माइतीघरमा ल्याउने चेतावनी उनले दिए ।
उनले भने, ‘म प्रधानमन्त्रीलाई झीर खोपेर सुन्न चेतावनी दिन्छु । तपाई सच्चिनु भएन भने तपाईंको ३२ सिटे पार्टी र तपाई आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाउनु भयो भने प्रचण्डलाई सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो । त्यो तागत युवा विद्यार्थीसँग छ । एमालेसँग छ ।’