-1700733145.png)
काठमाडौं— एमाले नेता महेश बस्नेतले गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा उत्रिएको दाबी गरेका छन् ।
तीनकुनेमा बिहीबार एमाले भ्रातृ संगठन युवा संघले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमाले भ्रातृ संगठन र दुर्गा प्रसाईं समूहले प्रदर्शनका लागि एकै दिन रोजेपछि स्थानीय प्रशासनको सक्रियतामा छुट्टाछुट्टै ठाउँ तोकिएको छ । बल्खुमा प्रसाईं समूहले प्रदर्शन गरिरहेको छ । बस्नेतले तीनकुनेको भेलामा सुरक्षाकर्मीले युवा सङ्घलाई सुरक्षा दिन नसके बल्खुमा पुग्ने चेतावनी दिए ।
बल्खुमा सुरक्षाकर्मीले युवा संघको कार्यकर्तालाई सुरक्षा दिन नसके आफूहरू जाने चेतावनी दिएका हुन् । युवा संघको शक्ति प्रदर्शनमा बोल्दा उनले बल्खुमा युवा संघको जुलुसलाई रोक्न खोजेको भन्दै प्रहरीले सुरक्षा दिन नसके त्यहाँ पुग्नु परेमा कमिला किचेजस्तो हुने भन्दै चेतावनी दिएका हुन् ।
उनले भने,‘बल्खुमा हाम्रो आइरहेको जुलुसलाई रोक्न खोज्यो भन्ने मैले सुने । म प्रहरीलाई अनुरोध गर्दैछु । बल्खुबाट आइरहेको करिब ५०० जतिको जुलुस छ र रोक्न खोजेको हो भने प्रहरीले त्यो कुरालाई ध्यान देओस् होइन भने यो सिंगो पंक्ति त्यहाँ जानुपर्यो भने कमिला किचेजस्तो हुनेछ ।’
उनले आफूहरूको लक्ष्य झडप गर्ने र सरकारको निषेधाज्ञा तोड्ने नभएको प्रष्ट पारे । गणतन्त्रमाथि प्रश्न उठेपछि त्यसको प्रतिवाद गर्नको लागि आफूहरू सडकमा आएको उनले बताए ।