
काठमाडौं— मोरङको उर्लाबारी नगरपालिका– ७ बरगाछीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
गत कात्तिकमा लक्ष्मी पूजाको रात स्नेहा सुनचाँदी पसलमा भएको आगलागी नियन्त्रणका क्रममा सिलिन्डर विस्फोट हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान एक जनाको मृत्यु भएको थियो । बुधबार राति र बिहीबार बिहान थप दुई जनाको मृत्यु भएको हो ।
उपचारका क्रममा बुधबार राति साढे १० बजेतिर उर्लाबारी– ७ का ४९ वर्षीय हेमकुमार दाहाल (दीपक) र बिहीबार बिहान साढे ६ बजेतिर उर्लाबारी– ७ कै ४२ वर्षीय कुमार तामाङको मृत्यु भएको हो । मंगलबार स्थानीय ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मृत्यु भएको थियो ।
स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुनचाँदी पसलमा कात्तिक २६ गते राति आगलागी भएको थियो । पसलमा लागेको आगो नियन्त्रणमा लिने क्रममा सिलिन्डर विस्फोट हुँदा ४ जना प्रहरीसहित २८ जना घाइते भएका थिए ।
आगलागीका घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई थप उपचारका लागि काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।













