युवा संघ र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानको प्रदर्शन आज

काठमाडौं— काठमाडौंमा बिहीबार दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।
प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । दुई समूहको प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ ।
प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमान्ड’ सेन्टर बनाएको छ । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । प्रदर्शनअघि दुवै समूहले र्याली निकाल्दैछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० ०८:२०













