
काठमाडौं— दुर्गा प्रसाईंले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौं आएको बताएका छन् ।
बिहीबार काठमाडौंमा हुने कार्यक्रममा भाग लिन बुधबार काठमाडौं आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने बताए । त्यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको उनको जिकिर छ ।
‘ओलीको कम्युनिस्ट सिद्धान्त गएको छ । अब कसरी मुख देखाउनुहुन्छ ? हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ ? अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ’, उनले चेतावनी दिए ।
यसैगरी युवा संघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दा समेत महिला अधिकारकर्मी र राज्य प्रशासन मौन भएकोमा आपत्ति जनाए । ओली र बस्नेतलाई चेतावनी दिँदै मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउने उनले चेतावनी दिए ।
‘हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन् । हामीसँग पैसा नभए पनि तर हामीसँग धेरै मानिस छन् । कि जेल जान्छु कि मर्छु भनेर काठमाडौँ आएको हुँ’, उनले भने, ‘आन्दोलन सफल नभएसम्म रोकिँदैन ।’
गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईँसँग राज्य हल्लियो उनले बताए । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकोले गणतन्त्र हल्लिएको उनले बताए ।













