
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
वन उपभोक्ता समितिको ९ लाख १३ हजार २८० रुपैयाँ रकम हिनामिना गरेको आरोपमा अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगीता चौलागाइँ र कोषाध्यक्ष माधवप्रसाद चौलागाइँविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनीहरूविरुद्ध हिसाबकिताब नदेखाएको, समितिको साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको भन्ने परेपछि आयोगले अनुसन्धान गर्दा उनीहरूले बदनियत राखी आपसी मिलेमतोमा उपभोक्ता समूहको बैंक खाताबाट ९ लाख १३ हजार २८० रुपैयाँ झिकेको खुलेपछि अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारले दायर गरेको मुद्दामा तीनै जनालाई कैद र हिनामिना भएको रकम बराबरको बिगो दाबी गरेको छ।













