News Griha :: न्यूजगृह
होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, घटना शंकास्पद 

काठमाडौं— पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ ।

तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा फेला परेकी थिइन् ।

कास्की प्रहरीका अनुसार २ वर्षदेखि सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आएकी विकको अचेत अवस्थामा होटलबाट उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, उपचारकै क्रममा साँझ करिब साढे ७ बजे मृत्यु भएको हो ।

विकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । तर उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार दिउँसो विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका थिए । कोठामा प्रवेश गरेको केही समयमै पुरुष बाहिरिएको र महिला साँझसम्म ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला परेका थिइन् । होटलमा सीसीटीभी क्यामेरा पनि छैन ।

‘कोठा बुक गर्दा कुनै परिचयपत्र पनि राखिएको थिएन रहेछ’, प्रहरी स्रोतले भन्यो, ‘होटलको सुरक्षा विधि अपनाइएको छैन । यसबारे पनि अनुसन्धान हुँदैछ ।’ 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १४:०१
Weather Update