
काठमाडौं— दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरूलाई नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन् ।
सुत्ने तरखरमा रहेका उनीहरूलाई दुर्गा प्रसाईंको भेलाका लागि आएको भन्दै युवा संघका कार्यकर्ताले लखेटिएको भिडिओ सार्वजनिक सञ्जालमा भाइरल छ। भिडिओमा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले लखेटेको देखिएको छ। जहाँ एकजना कार्यकर्ताले भनेको सुनिन्छ, ‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लखाट्यो भनेर।’ फेरि प्रश्न गर्छन्, ‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हैन।’
महिलाहरूले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गरेको भिडिओमा देखिन्छ। त्यसैगरी उनीहरु एकरात मात्रै बस्न दिन आग्रह गरिरहेका छन् ।
महिलाहरू इटहरीबाट उपत्यका आएको पनि भिडिओबाट बुझ्न सकिन्छ। त्यहाँ युवा संघका कार्यकर्ताले ‘देखाइदिन्छौं’ भन्दै आएको भन्दै आफूले देखाइदिने समेत भनिरहेका छन् ।
उक्त भिडिओ सार्वजनिक भएपछि लोकतन्त्रमा विरोध गर्न पाउने तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको एमाले सम्बद्ध कार्यकर्ताले हनन गरेको भन्दै आलोचना भइरहेको छ ।
तर युवा संघले भने त्यसको खण्डन गरेको छ । युवा संघका प्रवक्ता निरोज पौड्यालले आफूहरूभित्र पनि मानवता रहेको भन्दै यस्तो खालको अराजकता युवा संघले नगर्ने बताएका छन् । ‘हामी आफैं अराजकता विरुद्धको अभियानमा छौं, यो खालको अराजक काम हामीबाट हुँदैन,’ उनले भने ।
मध्यराति युवासघले जन्ताहरुलाई यसरी लखेटे छन धिक्कार छ? pic.twitter.com/A1DOaXlqGG
— Bipin Sapkota (@bipinsapkota213) November 21, 2023













