
काठमाडौं— अनलाइनमार्फत सट्टेबाजी खेल खेलाएको अभियोगमा प्रहरीले ६ जनालाई आइतबार दिउँसो ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका-७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अङ्कित श्रेष्ठ, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुरको चौदण्डीगढी नगरपालिका-३ घर भई ललितपुर थेचो बस्ने २० वर्षीया निका राई, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका-७ घर भई ललितपुर भैँसेपाटी बस्ने २९ वर्षीय विजय थापा, बाग्लुङको बरेङ गाउँपालिका-४ घर भई ललितपुर खुमलटार बस्ने २७ वर्षीय पर्वत पुन र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २७ वर्षीय डेकर राई छन् ।
उनीहरूले अनलाइन ग्यामबलीङ तथा अनलाइन क्यासिनो खेलमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टेबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले विभिन्न सामाजिक सञ्जाल लगायत विभिन्न अनलाइन ग्यामबलिङ प्लेटफर्म प्रयोग गरी अनलाइनमार्फत रकमको बाजी राख्न लगाई सट्टेबाजी गराई खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ल्यापटप छ थान, राउटर दुई थान, कम्प्युटर तीन थान, मोनिटर दुई थान, सीपीयू एक थान र मोबाइल १४ थान प्रहरीले बरामद गरेको छ ।













