News Griha :: न्यूजगृह
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन प्रधानमन्त्री, ओली र देउवा सहमत

काठमाडौं— प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन नेताको मंगलबार साँझको बैठकमा उक्त सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

द्वन्द्वपीडितले विज्ञप्ति निकालेर राज्य र राजनीतिक दलहरूको ध्यानाकर्षण गरिरहेको र द्वन्द्व अन्त्य गर्ने सम्झौता भएको १८ वर्ष लागिसक्दा पनि सङ्क्रमणकालीन न्याय टुङ्गोमा नलागेकोमा आपत्ति जनाइरहेको बेला तीन नेताबीच उक्त समझदारी बनेको हो । तीनवटै नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेको मल्लले बताए । 

सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्ष लाग्दा पनि सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगो लागेको छैन । तत्कालीन विद्रोही माओवादी र सात दलबीच २०६३ मंसिर ५ मा १२ बुँदे सम्झौता भएको थियो ।

शान्ति सम्झौताअनुसार सेना समायोजन, राज्यको पुनःसंरचनासहित संविधानको निर्माण सम्पन्न भएको छ । तर सङ्क्रमणकालीन न्यायको टुंगो लागेको छैन । सङ्क्रमणकालीन न्यायको टुंगो लगाउने भनेर राजनीतिक दलका नेताहरूबीच पटकपटक छलफल भएका छन् । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्मा विचाराधीन छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २१:००
Weather Update