काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अर्थतन्त्र अझै दबाबमा रहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग अर्थतन्त्रका समस्या समाधान बारेको छलफलमा उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको तथ्याङ्कले सुधारको अवस्थामा देखाए पनि नेपालको अर्थतन्त्र अझै दबाबमा रहेको बताएका हुन् ।
उनले भने, ‘नेपालको अर्थतन्त्र दबाबमै छ, हामीले गम्भीररूपले लिनु पर्नेछ । समीक्षा गर्नुपर्ने छ । तर अर्थ मन्त्रालय र राष्ट्र बैंकका गभर्नरले तथ्याङ्कसहित प्रस्तुत गरेको विषयवस्तुले हामी सुधारको अवस्थामा भएको देखाउँछ ।’
दाहालले गम्भीर विषयमा छलफल गर्न सर्वपक्षीय, सर्वदलीय बैठकलाई निरन्तरता दिने प्रतिबद्धता जताए । उनले भने, ‘आजको बैठकमा राम्रो तरिकाले प्रस्तुत गरिए पनि यो पर्याप्त छैन, आज एक दिनको बैठकले केही हुँदैन । त्यही पनि यो एउटा सुरुवात हो, यस्तै बैठक समय मिलाएर बस्नु पर्ने हुन्छ । यो सर्वपक्षीय, सर्वदलीय बैठकलाई निरन्तरता दिने मेरो गत सालको प्रतिबद्धताको निरन्तरता सोचेको छु ।’
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई सदुपयोग गरेका तर आर्थिक शिथिलताका कारण ऋण भुक्तानी गर्न समस्या भएका ऋणीहरूको हकमा नेपाल राष्ट्र बैंकले अध्ययन गरी ऋण भुक्तानीमा सहजीकरण गर्ने निर्णय भएको दाहालले जानकारी दिए । उक्त निर्णयले ऋणीहरूमा धेरै ठूलो राहत मिल्ने उनको विश्वास छ ।
उनले भने, ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई सदुपयोग गरेका तर आर्थिक शिथिलताका कारण भुक्तानी गर्न समस्या भएका ऋणीहरूको हकमा नेपाल राष्ट्र बैंकले अध्ययन गरी भुक्तानीमा सहजीकरण गर्ने छ । यो निर्णयले धेरै ठूलो राहत दिने छ । बैंकको ब्याजदर क्रमशः घट्दै गएको छ तर पनि यसमा राष्ट्र बैंकले अध्ययन गरी अझ पुनरावलोकन गर्ने भन्ने पनि निष्कर्ष छ ।’
सहकारी क्षेत्रको समस्या समाधानको लागि बनेको कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको भन्दै प्रधानमन्त्रीले कार्यदलले दिएका सुझावहरु मध्ये सहकारी नियमन गर्न छुट्टै विशिष्टीकृत संस्था तत्काल गठन गर्ने प्रक्रिया अगाडि बढाइने उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र विकासलाई गति दिएर जनतामा देखा परेको निराशा आशा र उत्साहमा परिणत गर्नु प्रमुख उद्देश्य रहेको भन्दै इमान्दारीसाथ आ–आफ्नो जिम्मेवारी पूरा गरेर मात्रै जनताको भरोसा जित्न सकिने धारणा राखे ।