News Griha :: न्यूजगृह
कांग्रेस सांसद शर्मा भन्छन्—‘आधुनिक लुटेराहरू’ले मुलुक चलाइरहेका छन्

काठमाडौं—  नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन् ।  

मंगलबार विदेश भ्रमण गरी स्वदेश फर्किएका शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग दुर्गा प्रसाईँले भने जस्तो व्यवस्था परिवर्तन होइन तर व्यवस्थाभित्र लुटतन्त्र मच्चाएकालाई भने हटाउनु पर्ने बताए । 

उनले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, तर अहिलेको अवस्थामा भन्नको लागि लोकतन्त्र भन्ने तर नियन्त्रित लोकतन्त्रको रुपमा लगिएको छ । दुर्गा प्रसाईंले भनेको जस्तो व्यवस्था परिवर्तनको पक्षमा म छैन, लोकतन्त्रको विकल्प छैन तर व्यवस्थाभित्र भएका खराब मानिसहरू जसले देशमा लुटतन्त्र मच्चाएर जसरी शासन सत्ता चलाएका छन् यसविरुद्ध भने जानु पर्छ ।’

अहिले राज्यसत्ता ‘आधुनिक लुटेराहरु’ ले सञ्चालन गरिरहेको भन्दै शर्माले यो सरकारले दूरदराजमा भएका भुईँ मान्छेहरूका आवाज, गरिबका आवाज नसुनेको बताए ।   

उनले भने, ‘अहिले राज्य सत्तामा आधुनिक लुटेराहरू छन् । अहिले आधुनिक राजनीतिक लुटेराहरूले यो मुलुक चलाइरहेको देखिन्छ । केही सभ्रान्त मानिसहरू र हरेक पार्टीका केही व्यक्तिहरू जसले राज्य संयन्त्रको दोहन गरेका छन् ।’

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:३९
Weather Update