News Griha :: न्यूजगृह
सङ्क्रमणकालीन न्याय छिटो टुङ्गोमा पुर्‍याई पीडितलाई न्याय देऊः मानव अधिकार आयोग 

काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्गोमा पुर्‍याएर द्वन्द्व पीडितलाई न्याय दिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।

मंगलबार विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको छ । यस सन्दर्भमा आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले विज्ञप्तिमार्फत सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्याउन आग्रह गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता भएका द्वन्द्वकालीन उजुरीहरू उपर आयोगले अनुसन्धान, निर्णय र सिफारिस गर्दै आएको छ । आयोगको सिफारिस बमोजिम हालसम्म पनि मानवअधिकार उल्लङ्घनमा संलग्न दोषीउपर कारवाही र पीडितलाई परिपूरणका कार्यहरू पूरा नहुँदा द्वन्द्वपीडित परिवारले न्याय प्राप्तिको अनुभूति गर्न नसकेको अवस्था छ । राजनीतिक दलका शीर्ष नेताहरू समेतबाट द्वन्द्वपीडितलाई न्याय प्रदान गर्न ढिलाई भएको कुरा स्वीकार गर्दै सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याई पीडितलाई न्याय प्रदान गर्न भनी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यसअघि सरकारले पटकपटक गरेको प्रतिवद्धतालाई आयोग स्मरण गराउँछ ।’

नेपाल सरकार तथा तत्कालीन नेकपा माओवादीबीच २०६३ मङ्सिर ५ गते  विस्तृत शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतापछि नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व औपचारिक रुपमा अन्त्य भएको थियो ।  शान्ति सम्झौताको १७ वर्ष पूरा भएपनि पीडितले अझैसम्म न्याय पाउन नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:२१
Weather Update