News Griha :: न्यूजगृह
८ वर्षपछि फेरि प्रचण्डसँगै सहकार्य गर्न बाबुराम तयार, पार्टी एकता हुँदै

काठमाडौं— नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अगाडि बढेको छ । बाबुराम भट्टराई फेरि माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका हुन् ।  

जसअनुसार सोमबार टोखामा बसेको बैठकमा भट्टराई आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न तयार भएका हुन् । त्यस्तै एकतापछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने सहमति भएको छ ।

बैठकमा अध्यक्ष भट्टराईसहित अर्का अध्यक्ष महेन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी थिए । आइतबार पार्टी एकता गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच छलफल भएको थियो । माओवादीका वार्ता समिति संयोजक कृष्णबहादुर महरा र समाजवादीका वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठ लगायतबीच आइतबार भएको बैठकमा पार्टी एकताको लागि दुवै पार्टीलाई एकता संयोजक समिति गठन गर्न सुझाव दिनेबारे छलफल भएको थियो ।

‘दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । २०७२ सालमा माओवादी छाडेका बाबुराम ८ वर्षपछि फेरि पुष्पकमल दाहाल प्रचण्डसँगै सहकार्य गर्न तयार भएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १३:२४
Weather Update