News Griha :: न्यूजगृह
भूकम्प : चिसोबाट जाजरकोटमा एक महिने शिशुको मृत्यु 

जाजरकोट— चिसोबाट एक महिने शिशुको मृत्यु भएको छ ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरूताको चिसोले मृत्यु भएको हो । भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

निमोनियाले बिरामी परेकी निरूताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । चिसोबाट जाजरकोटमा ५० भन्दा बढी बालबालिका बिरामी परेका छन् । चिसोकै कारण ११ जना दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गएको छ । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १०:५५
Weather Update