
काठमाडौं— बारामा मेला लगाउने विषयमा दुई पक्षबीच विवाद हुँदै झडप भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न हवाई फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले सोमबार राति ८ राउन्ड गोली फायर गरेको हो । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार राति करिब १० बजे पचरौता नगरपालिका–७ बेनौलीमा झण्डा मेला लगाउने विषयमा दुई पक्षबीच विवाद भएको थियो ।
विवादमा ढुंगामुढा तथा झडपसमेत भएको थियो । झडपलाई नियन्त्रणमा लिन करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाई फायर गरेको थियो । त्यसको केही समयपछि करिब ११:४५ बजे पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड गोली हवाई फायर गरेको न्यौपानेले बताए । त्यसपछि भने स्थिति सामान्य बनेको उनको भनाई छ ।
झडपमा दुई पक्षबीच ढुंगा हानाहान हुँदा दुईजना घाइते छन् । पचरौता–७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल घाइते भएका प्रहरीले जनाएको छ ।













