काठमाडौं— नेपाली कांग्रेसले भूकम्पपीडितका लागि १ हजार घर बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवकको २५ टोली प्रभावित क्षेत्र पठाएर श्रमदान गर्ने भएको छ ।
सोमबार बिहान धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयंसेवक टोली पठाउने निर्णय भएको छ । एउटा टोलीमा १० जनाका दरले स्वयंसेवक पठाउने निर्णय भएको छ ।’
चिसोका कारण भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो । प्रभावित क्षेत्रमा टहरा बनाउन पठाउने भनिएको प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक सहित १० जना रहने विश्वकर्माले जानकारी दिए ।
उक्त टोलीले सुत्केरी र वृद्धवृद्धा रहेका परिवारलाई प्राथमिकतामा राखेर टहरा निर्माण कार्य अगाडि बढाउने विश्वकर्माको भनाई छ । चिसोका कारण अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको छ ।