
काठमाडौं— गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत असोज २० देखि उनी हमास समूहको कब्जामा छन् । इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई गरेको हो ।
परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार उनी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको हो । ‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ । अब उद्धारको लागि सरकारले थप सक्रियता देखाएको छ,’ उनले भने ।
सुरक्षित रहेका जोशीलाई रिहाईको लागि पहल भइरहेको पनि उनले बताए । उनको सकुशल उद्धारको माग गर्दै शनिबार आमाबुबाले परराष्ट्र मन्त्री साउदसँग भेट गरेका थिए । तर इजरायलस्थित नेपाली राजदूतावासले सोमबार विज्ञप्ति जारी गरेर जोशी अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताएको छ ।
इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए ।