
रौतहट— अवैध हतियार बरामद गरी मुचुल्का उठाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–३ स्थित मल्हेनिया टोलमा स्थानीयले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।
ढुङ्गामुढाबाट सशस्त्रको गाडीमा क्षति पुगेको छ । ढुङ्गाले लागेर केही सुरक्षाकर्मी घाइते समेत भएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय इन्टेलिजेन्स ब्युरो टोलीको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ हेडक्वाटर रौतहटबाट खटिएको ५४ जनाको टोलीले यमुनामाई गाउपालिका–३, मल्हनियास्थित १९ वर्षीय शेख एजाज अहमदको घर खानतलासी गर्दा अवैध रुपमा लुकाएर राखेको ९ एमएम पेस्तोल, त्यसमा लाग्ने गोली १३ राउन्ड, म्याग्जिन ६ थान तथा एअर गन १ थान बरामद गरेको हो ।
सशस्त्रले छापामार्नु अघि नै अहमद फरार भइसकेका थिए । हतियार बरामदपछि मुचुल्का गर्न गएको सशस्त्र प्रहरीको टोलीमाथि स्थानीयले ढुंगा प्रहार गरेका थिए । हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको छ । हतियार बरामदपछि सशस्त्र प्रहरीको टोलीमाथि महिला तथा बालबालिकाहरूले ढुंगा प्रहार गरेका थिए ।
त्यस क्रममा सशस्त्र प्रहरीका ४ जना समान्य घाइते भएको नम्बर ११ गणले बताएको छ । ढुंगा प्रहारबाट सशस्त्र प्रहरीको गाडीमा क्षति पुगेको छ । स्थिति तनावपूर्ण बनेपछि इलाका प्रहरी कार्यालय गरुडाबाट थप प्रहरी मद्दतका लागि पुगेको थियो । सशस्त्र प्रहरीले फरार अहमदको खोजी सुरु गरेको छ । उनको पृष्ठभूमि बारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।













