News Griha :: न्यूजगृह
आठबीसकोटमा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माणको थालनी 

रुकुम— रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्प पीडितका लागि  अस्थायी आवास निर्माण थालिएको छ ।  

आठबीसकोट–१४ स्थित जामिरेकोट पूर्णगाउँमा उनीहरूलाई चिसोबाट जोगाउन सामूहिक आवास निर्माण थालिएको हो । 

पहिलो चरणमा स्थानीय कच्चापदार्थ प्रयोग गरेर जामिरेकोट पूर्णगाउँ, छेपारे टोलमा दसवटा अस्थायी आवास निर्माण गर्न लागिएको  इञ्जिनीयर मानबहादुर शाहीले जानकारी दिए । 

उनका अनुसार पहिलो चरणमा भूकम्पबाट मृत्यु भएका १० घरपरिवारलाई अस्थायी आवास निर्माण थालिएको छ । 

दुईवटा भने निर्माण सम्पन्न भई पीडित परिवार बस्न थालिसकेका छन् । अन्य आठ अस्थायी आवास दुई दिनभित्र निर्माण सम्पन्न गरी मृतकका आफन्त परिवारलाई हस्तान्तरण गरिने इञ्जिनीयर शाहीले जानकारी दिए । 

भूकम्पले भत्किएका घरबाट निस्केका काठ, अन्य आवश्यक परेमा स्थानीयस्तरमै पाइने सल्लाको काठ र जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण काम जारी रहेको उनले जानकारी दिए । 

अस्थायी आवास निर्माण गर्दा काठलगायत आठवटा जस्तापाता प्रयोग गरेर पाँच जना परिवार बस्न मिल्ने दुई कोठा बराबरको अस्थायी आवास निर्माण गरिएको छ । 

नमूना घरका रूपमा निर्माण गरिएको अस्थायी आवास निर्माण गर्न प्रत्येक अस्थायी आवासलाई रु ३५ हजारका दरले खर्च लाग्ने उनले जानकारी दिए । आवास निर्माण गर्दा स्थानीयवासीको पनि सहयोग रहेको उनको भनाइ छ । 

दसवटा आवास निर्माण गर्दा लाग्ने सबैखर्च पाँच जनाको व्यक्तिगत रूपमा भूकम्प पीडितलाई सहयोगबापत खर्च गरिएको शाहीले जानकारी दिए । 

स्थानीय कच्चापदार्थबाट निर्माण गरिएको अस्थायी आवास जोखिममुक्त र बलियो रहेको उनको भनाइ छ । 

आठबीसकोट १४ का मृतक १३ घरपरिवारमध्ये एक घरपरिवारलाई नेकपाका महासचिव नेत्रविक्रम चन्द नेतृत्वलेको समूहले अस्थायी आवास निर्माण गरिदिएको हो भने दुई घरपरिवारलाई अन्य सहयोगी संघ, संस्थाले अस्थायी आवास निर्माण गरिदिएका हुन् । 

आठबीसकोट  १४ का १३ मृतक घरपरिवारलाई अस्थायी आवास बन्ने निश्चित भए पनि अन्य क्षति भएका घरमा अस्थायी आवास कहिले निर्माण हुन्छ भन्ने टुंगो छैन । 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १७:२२
Weather Update