News Griha :: न्यूजगृह
छठ पर्व मनाउने पहाडिया समुदाय बढ्दै

चितवन— तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठ पर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका छन् । 

छठीमाईको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने भन्दै पहाडिया समुदायका व्यक्ति पनि यस पर्वलाई मनाउन थालेका हुन् । तराई सामुदायीक सेवा समितिले हरेक वर्ष नारायणी नदी किनारमा छठ पर्व मनाउँदै आएको छ ।

यहाँ पूजा गर्न आउनेको संख्या वर्षेनी बढ्दै गएको समितिका सल्लाहाकार राजकुमार गुप्ताले बताए । उनले भने, ‘तराई मुलकासँगै पाहाडिया समुदायका व्यक्तिमा पनि छठ पर्वको महत्त्व बढ्दै गएको छ । अहिले ४५ प्रतिशत हाराहारी पाहाडिया समुदायका व्यक्तिले यो पर्वमा पूजा गर्ने गरेका छन् ।’

गुप्ताका अनुसार विसं. २०२२ तिर नारायणगढमा छ/सात घरले मात्रै छठ पर्व मनाउने गरेकामा अहिले यो संख्या बढेको हो । 

प्रकृति र अदृश्य शक्तिसँग जोडेर सूर्य भगवानलाई पूजा गर्ने गरिएको उनको भनाइ थियो । उनले भने, ‘छठीमाईको पूजा गर्दा सन्तान प्राप्ति हुनुका साथै दीर्घरोग निको हुने विश्वासका साथ मनाइने गरिएको छ ।’ छठ पर्वप्रति आस्था र विश्वास बढ्दै गएको गुप्ताले बताए । 

व्रत बस्ने र छठीमातालाई प्रसाद चढाउनेको संख्या पाहाडिया समुदायमा बढ्दै गएको भन्दै उनले भने, ‘पाहाडिया समुदायका व्यक्ति तराई समुदायका व्यक्तिकामा गएर पर्वको विधिबारे बुझ्ने र आफूले पनि मनाउने प्रचलन वढ्दै गएको छ ।’

नदी किनारमा बसी बालुवाको स्तुप बनाउने भन्दा प्रसाद चढाउन आउने पाहाडिया समुदाय धेरै रहेका समितिका सल्लाहाकार गुप्ताले जानकारी दिए । यसवर्ष नारायणी नदी किनारमा २५/३० हजार भक्तजनले छठीमाईको पूजा गर्ने अनुमान गरिएको उनले बताए ।

समितिले पूजा व्यवस्थापनका लागि नदीको बगरमा त्रिपाल टाँगेर व्यवस्थित गरेको छ । व्रत बस्ने भन्दा हेर्न आउनेको संख्या निकै धेरै हुने उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १५:१७
Weather Update