News Griha :: न्यूजगृह
समाजमा विद्यमान विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसंगतिलाई अन्त्य गर्दै समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताएका छन् ।   

छठ पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले विभिन्न जनजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिको जगेर्नाबाट समाजलाई एकआपसमा एकताबद्ध गर्नुका साथै सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री नेपालले सम्पूर्ण पृथ्वीलाई समानरूपमा ताप र प्रकाश दिने सूर्यको आराधना तथा पूजा गरी मनाइने छठ काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत मनाइने गरेको उल्लेख गरे । 

हिमाल, पहाड तराईका जनताको एउटा साझा पर्वका रूपमा विकास भएको छठलगायत पर्वले सामाजिक एकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।  

यस्ता चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्नाले एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने अध्यक्ष नेपालले उल्लेख गरे । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:२७
Weather Update