
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वले सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
यस पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीमाथि विजय हासिल गर्दै अगाडि बढ्नसमेत मार्ग प्रशस्त गर्ने उनको भनाइ थियो ।
नेपालको तराई–मधेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘नेपाली समाजमा प्रचलित सबै चाडपर्वहरूमा आफ्नो ऐतिहासिक पृष्ठभूमि र विकासक्रमको संरक्षण गरेको पाइन्छ । मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आरधना गरी छठ पर्वको परम्परा सुरूवात भएको मानिन्छ ।’
यस पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित रहेको उल्लेख गर्दै उनले जीवनउपयोगी प्राकृतिक वस्तुको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
भूगोल र क्षेत्रफलको हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व, वेषभूषा र सभ्यताका दृष्टिले हामी नेपाली विश्वमै विशाल र वैभवशाली रहेको प्रधानमन्त्रीको भनाइ छ ।
छठ पर्वले चुनौतीलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको सञ्चार भर्न, राष्ट्रलाई एकतावद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे ।