News Griha :: न्यूजगृह
छठको पूजा गर्न तीन सय घाट निर्माण

दमक– छठ पर्वका लागि दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल (घाट) निर्माण गरिएका छन् । 

मैथिली सेवा समितिको आयोजनामा संस्थागत रूपमा मनाइँदै आएको छठमा गतवर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष यहाँ दुई सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए । 

छठमा पछिल्लो समय रुची र सहभागिता बढ्दै गरेका कारण यसवर्ष नेपालीको साझा चाडका रूपमा लिएर घाट संख्या पनि बढाइएको मैथिली सेवा समिति दमकका अध्यक्ष कृष्ण साहले बताए । उनले भने, ‘अब यो सबै नेपालीको साझा पर्व हो ।’

दमक–७ स्थित रतुवा नदीको घाटमा एकै ठाउँमा छठ पूजाका लागि पण्डालसहितको घाट निर्माण गरिएको छ । विपन्न र असहायलाई २५ घाट निःशुल्क प्रदान गरिने व्यवस्था मिलाइएको अध्यक्ष साहले जानकारी दिए । ‘पैसा नभएर आफ्नो संस्कार संस्कृति मनाउनबाट कोही वञ्चित हुनु नपरोस् भनेर घाट तयार गरेका छौँ,’ उनले भने ।

छठस्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरको नगर प्रहरीको तैनाथ गरिएको छ । यहाँ ठाउँ–ठाउँमा शौचालय निर्माण गरिएका छन् । मैथिली सेवा समितिले संस्थागत रूपमा २०६३ सालदेखि दमकमा छठ पर्वको सामूहिक पूजा सञ्चालन गर्दै आएको हो ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १०:५३
Weather Update