News Griha :: न्यूजगृह
सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै
छठ पूजाका लागि झिलिमिलिले श्रृङ्गारिएको वीरगन्जको घडिअर्वा पोखरीको छठ घाट । तस्बिरः विजयकुमार महतो / रासस

काठमाडौं— देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ ।

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।  

बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठको दोस्रो दिन हिजो खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन बर्तालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन् ।

छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौंको गुहेश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०६:४१
Weather Update