
काठमाडौं— प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी छ । संसद्को शंकर हलमा जारी बैठकमा विषयगत समिति गठन, संघीय संसद्को संयुक्त बैठक र संयुक्त संशोधन नियमावली मस्यौदा समिति गठन तथा आजको बैठकको कार्यसूचीका विषयमा छलफल गर्ने कार्यसूची छ ।
सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गरेपछि आज पहिलो बैठक आह्वान गरेका हुन् । बिहीबार बसेको बैठकमा कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधि सभा सदस्यहरू अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक रहेका छन् ।

यसैगरी सभामुख घिमिरेले रामप्रकाश चौधरी, रामहरि खतिवडा रूपा सोसी चौधरी, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाहीलाई कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरेका थिए ।
सोमबारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सेवा प्रसारण विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेलगायत रहेका छन् ।














