
काठमाडौं— आशा लघुवित्त वित्तीय संस्थाका २ सय कर्मचारीले सामूहिक रुपमा राजीनामा दिएका छन् ।
मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।
साबिक राष्ट्र उत्थानका २ सय कर्मचारी हेटौँडामा भौतिक उपस्थिति भई संयुक्त राजीनामा दिएका हुन । उनीहरूले ११ बुँदे माग राख्दै राजीनामा दिएका छन् । आशाले राष्ट्र उत्थानलाई प्राप्ति गरे पश्चात् आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा गत असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो।
व्यवस्थापनले कर्मचारीमाथि अन्याय गरेपछि आन्दोलनको घोषणा गर्दै उनीहरूले राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार हेटौँडामा उपस्थित लघुवित्तका कर्मचारीहरूले संस्थाका निमित्त प्रमुख कार्यकारी निर्देशक बद्रि प्रसाद दुलालको नेतृत्वमा कर्जा असुली तथा अनुगमन विभागका विभागीय प्रमुख रविन खतिवडा र शाखा सञ्चालन तथा तालिम विभागका विभागीय प्रमुख पुष्कर मिश्रले राष्ट्र उत्थानको शाखा निरीक्षण गर्ने बहानामा मादक पदार्थको सेवन गरी सम्पूर्ण कर्मचारीहरूमाथि अनावश्यक रूपमा नीति नियम विपरीत अभद्र व्यवहार गरेको आरोपसमेत उनीहरूले लगाएका छन् ।
‘काममा अनावश्यक दबाब दिएको, विभिन्न शाखामा गई राष्ट्र उत्थानको शाखा तथा कर्मचारी नभए पनि लघुवित्त लाई फरक नपर्ने भनी धम्की पूर्ण भाषाको प्रयोग गरेको प्रति हाम्रो घोर आपत्ति छ,’ कर्मचारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेवा सुविधा समायोजन गरी हाम्रा मागहरू पुरा गरेमा कामलाई निरन्तरता दिन सकिने छ।’
कर्मचारीहरूले आफ्ना मागहरू पुरा नभएसम्म कार्यालयमा तालाचाबी लगाउने चेतावनी समेत दिएका छन् । मङ्सिर ४ गते भित्र माग पुरा गरेमा मात्रै कार्यालय खोल्ने उनीहरूको भनाई छ।
यस्ता छ कर्मचारीका माग
१. मिति: २०८०/०३/३१ देखि साबिक आशा लघुवित्त वित्तीय संस्था लि.ले राष्ट्र उत्थानलाई प्राप्ति गरे पश्चात् आशा लघुवित्त वित्तीय संस्था लि.को नाममा रूपान्तर भई सम्पूर्ण नीति नियम आशा लघुवित्तको रहने गरी एकीकृत कारोबार सञ्चालन भएको चार महिना समाप्त हुँदा समेत कर्मचारी सेवा सुविधा समायोजन नभएको हुँदा मिति: २०८०/०८/०१ देखि लागूहुने गरी सम्पूर्ण सेवा सुविधा समायोजन गरिनु पर्ने । तथा साबिक राष्ट्र उत्थानमा खाइपाइ आएको ग्रेडलाई पैसामा नभई ग्रेडमै कायम गरिनु पर्ने ।
२. आन्तरिक बढुवा गर्दा संस्थामा आवद्ध भएको समय, कार्य अनुभव र संस्था प्रति गरेको योगदानको आधारमा नभई साबिक राष्ट्र उत्थानले मिति: २०८०/०३/२९ गते कर्मचारी श्याम कुमार श्रेष्ठको बढुवाको निर्णय कुन नीति नियममा रही, कुन किसिमको मूल्याङ्कनको आधारमा र के को तालमा गरिएको हो ? सोको स्पष्टीकरण कार्यकारी निर्देशकले दिनुका साथै विगत १०/१२ वर्ष देखी संस्थामा संस्थाको उद्देश्य प्राप्तिको लागी योगदान गर्दा त्यस्ता किसिमका कर्मचारीहरूको कुनै मुल्याङकन नहुने र अवसर दिनु नपर्ने यस्तो नीति विपरीत मनोमानी ढङ्गले गरिएको निर्णय मान्य नहुने भएकोले तत्काल उल्ट्याई फिर्ता लिनुपर्ने । आगामी दिनमा कुनै थप जिम्मेवारी प्रदान गर्दा वा बढुवा गर्दा सर्वप्रथम कार्य अवधि र योग्यताको आधारमा गरिनु पर्ने ।
३. एकीकृत कारोबार सञ्चालन भए पश्चात् केन्द्रीय कार्यालयबाट साबिक राष्ट्र उत्थानको शाखा कार्यालयहरू अनुगमन गर्ने क्रममा आगामी दिनमा नीति नियम अनुसार संस्थाको कार्यक्रम सञ्चालनमा एकरूपता ल्याई संस्थाको उद्देश्य प्राप्ति गर्नको लागि कर्मचारीहरूमा हौसला प्रदान गर्नु पर्नेमा मादक पदार्थको सेवन गरी कार्यालय प्रवेश गरेको, संस्थाको विद्युतीय हाजिरी निर्देशिका अनुसार कार्यालय समय पश्चात् शनिवारको दिन बिदाको दिन अनावश्यक विषयमा जुन केन्द्रीय कार्यालयको निर्देशन बिना शाखाले गर्न नपाइने कुरामा समेत निहुँ खोज्ने महिला कर्मचारीहरूलाई समेत गाली गलौज गर्ने, अपशब्दहरू प्रयोग गर्ने, कर्मचारीहरूको फोन खोस्ने जागिर छोड्न दबाब लगायतका निन्दनीय कार्यहरू गरेकोले त्यसको घोर भर्त्सना गर्दै निमित्त प्रमुख कार्यकारी निर्देशक बद्री प्रसाद दुलाल, र शाखा सञ्चालन तथा तालिम विभागका विभागीय प्रमुख श्री पुष्कर मिश्रले राजीनामा दिनुपर्ने
४. कर्मचारी बढुवा घटुवा सरुवा नियुक्ति गर्दा पूर्ण रूपमा विनियमावलीमा तोकिए बमोजिम गरिनु पर्नेमा मनलाग्दी तवरले कुनै कर्मचारीलाई पाँच वर्ष सम्म आफ्नो पायक पर्ने शाखामा राख्ने र कुनै कर्मचारीलाई ६/६ महिनामा सरुवा गर्ने जस्ता कार्य केको आधारमा गरिएको हो । सो कार्य तत्काल बन्द गरी लामो समय देखी एउटै शाखा वा उपत्यका भित्र रहेकालाई समेत उपत्यका बाहिर मिति: २०८० /०८/०१ देखिने गर्ने व्यवस्था मिलाउनु पर्ने । साथै मिति २०८० असोज महिनामा गरिएको सरुवा र घटुवा कुन नीति नियमको आधारमा गरिएको हो ? त्यसको जवाफ सम्बन्धित निकायले दिनुका साथै तत्काल उल्टाइ फिर्ता लिनु पर्ने ।
५. कर्मचारीको सरुवा गर्दा एक शाखामा दुई वर्ष पुरा पश्चात् गरिनु पर्ने यसरी सरुवा गर्दा दुर्गम तथा सुगम भेग छुटाई दुर्गममा रहनेलाई दुर्गम भत्ताको व्यवस्था गरिनुका साथै शाखा कार्यालयमा सरुवा भई आउने तथा जाने कर्मचारीहरूको बारेमा सम्बन्धित शाखा प्रबन्धकलाई जानकारी पश्चात गरिनु पर्ने र सरुवा भई टाढा गएका कर्मचारीहरूलाई सरुवा भई जाने कार्यालयमै बस्ने व्यवस्था मिलाउनु पर्ने ।
६. संस्थाको नीतिगत निर्देशनलाई इमेलको प्रयोग नगरी सामाजिक सञ्जाल (भाइबर) को प्रयोग दिन प्रतिदिन बढाउँदै गएकोले सामाजिक सञ्जाल तत्काल बन्द गरी संस्थाको नीतिगत निर्देशन इमेल मार्फत दिने पालना गर्ने गराउने गर्नु पर्नेमा यस्ता गैर कानुनी तवरले कर्मचारीहरूलाई मानसिक तनाव दिने कार्यको भर्त्सना गर्दै आजकै मिति देखी (भाइबर) मार्फत गरिएका निर्देशनको पालना नगरिने र बन्द गरिनु पर्ने ।
७. कुनै पनि आधिकारिक निर्देशन बिना फोन तथा भाइबरको प्रयोग मार्फत अनावश्यक रूपमा टार्गेटको बहानामा दिइने प्रेसरमा मासिक टार्गेट एनपीएल घटाउने बहानामा लामो समय देखी खराब वर्गमा परेका कर्जाको no hit रिपोर्टको प्रयोग गरी खराब कर्जालाई लगानी देखाई अनावश्यक कर्जाको भार पारी कर्जा थप गरी बचतमा राखी कर्जा तथा बचत वृद्धि देखाई कर्मचारीहरूलाई प्रतिबद्धता गर्न लगाई गैरकानुनी कार्य गर्दै आएकोले यस्ता गतिविधि तत्काल बन्द गरी वैकल्पिक माध्यमको खोजी गर्नु पर्ने । यस्तो किसिमको गैर कानुनी कार्यको भागी एक परिवारको भरोसा रहेको निर्दोष कर्मचारीमा पर्ने कारण सोको बारेमा बेलैमा सचेत हुन सम्बन्धित सबैमा ध्यानाकर्षण गराइन्छ ।
८. विनियमावलीमा उल्लेख भए अनुसारको शैक्षिक योग्यताको आधारमा विभागीय प्रमुख नियुक्ति गरिनु पर्ने र भए नभएको तत्काल छानबिन गरी मिति २०८०/०८/०१ देखी लागू गर्नु पर्ने ।
९. कर्मचारी सेवा विनियमावली र संस्थाको विद्युतीय हाजिरी कार्यविधिको परिच्छेद २ को उपविनियम ४.२ बमोजिम कार्यालय समयको पूर्णरुपमा पालना गर्नु पर्ने तथा शनिवार, सार्वजनिक बिदाको दिन काममा लगाउन नपाउने यदि काममा लगाउनु पर्ने आवश्यकता भएमा अतिरिक्त भत्ता वा सट्टा बिदाको व्यवस्था हुनुपर्ने र प्रदेश सरकारको बिदालाई समेत पूर्ण पालना गर्नु पर्ने ।
१०. एकातिर मासिक लक्ष्य प्रगतिको बहानामा उल्लेख भय अनुसारको लक्ष्य पुरा गर्ने प्रतिबद्धता गर्नु पर्ने भनी माथिल्लो निकायबाट प्रेसर दिने अर्कोतिर मासिक रूपमा शाखा प्रबन्धकले २० वटा केन्द्र निरीक्षण रिपोर्ट ४० वटा कर्जा सदुपयोगिता रिपोर्ट अनिवार्य गर्नु पर्ने, अनावश्यक रूपमा विविध शीर्षकको रजिस्टर खडा गर्न लगाई समय तथा कार्यालय बिचमा वृद्धि भएको तर्फ कुनै चासो नदिने, फिल्ड कर्मचारीहरूलाई दैनिक रूपमा बिहान ७:३० देखी बेलुकी ५:०० बजे सम्म फिल्डमा कुदाउने जुन कुराको असर दैनिक रूपमा कार्यालयको कार्य सम्पादनमा परेको तर्फ कुनै चासो नदिने र अनावश्यक रूपमा अनुगमन अधिकृतलाई रिपोर्ट मात्र तयार पार्न लगाई एउटै शाखामा २ दिन बसाली होटलमा बस्न खान लगाई भएको खर्च र उपलब्धि को कुनै हिसाब नराखी गरेको कार्यप्रति ध्यानाकर्षण गराइन्छ ।
११. विगत १ वर्ष देखी साबिक राष्ट्र उत्थानमा नियुक्ति गरिएको सम्पूर्ण तानिने कर्मचारीहरूलाई मिति २०८०/०८/०४ देखी लागू हुने गरी स्थायी नियुक्ति दिनु पर्ने ।













