म्याग्दी— म्याग्दीको मालिका गाउँपालिका– ७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ ।
प्रभुचेला धुरी प्रवर्द्धन समाज बिमका अध्यक्ष नवीन जुग्जालीले यो ठाउँको ऐतिहासिक पक्षको अध्ययन र संरक्षण गरेर खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत गरिएको बताए ।
समुदाय, प्रदेश सरकार र स्थानीय तहले आश्रयस्थल, सडक, पदमार्ग, मन्दिर, खानेपानीको पूर्वाधार निर्माण गरिएको छ । ऋषिमुनि तपस्या गर्न आउने प्रभुचेला धुरी प्राकृतिक हिसाबले पनि सुन्दर छ । यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले बताए ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १५ लाख सहयोगमा करिब ५० जना क्षमताको आश्रयस्थल भवन र उकालो बाटोमा ८७ मिटर पक्की पदमार्ग निर्माण गरिएको छ । कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षण गरिएको छ । प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनिका लागि तपस्यास्थल थियो ।
बिम गाउँको शिर र मालिका धुरीको फेदीमा रहेको प्रभुचेलामा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनि आउने गर्दथे । स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले १९७० देखि १९७५ सालसम्म यही ठाउँमा तपस्या गरेका थिए ।
कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नावशेष अझै छन् । प्रभुचेला धुरीबाट धौलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मालिका गाउँपालिकाको पाँच लाख बजेटबाट सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।
विभिन्न दाता तथा व्यक्तिगत लगानीमा मन्दिर, खानेपानी र ध्यानाश्रम बनाइएको छ । आश्रयस्थल बनेपछि तपस्वी, भक्तजन र पर्यटकलाई राति, हिउँ, पानी परेको र घाम चर्किदा आश्रय लिन सहज भएको छ । समुद्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ ।
प्रभुुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ५० लाख विनियोजन गरेको छ । बिम मालिका सङ्घले करिब २५ लाख रुपैयाँ जुटाएको छ ।