
काठमाडौं— मंसिर ७ को मिति नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा अवस्थाका विषयमा चासो राखेका छन् ।
मंसिर ७ गते दुर्गा प्रसाईँ नेतृत्वको अभियान र नेकपा एमालेको युवा दस्ता राष्ट्रिय युवा संघले एकै साथ काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले मुलुकका चार वटै सुरक्षा निकायका प्रमुखसँग सुरक्षा अवस्थाको विषयमा चासो राखेका हुन् ।
परस्परविरोधी विचारधारा बोकेका दुई समुहले काठमाडौंमा एकसाथ शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् । यही परिस्थितिबारे प्रधानमन्त्री दाहालले सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा रणनीतिबारे जानकारी लिएका हुन् ।
प्रधानमन्त्री दाहालले शुक्रबार तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायका प्रमुखहरूसँग आफूले सुरक्षा अवस्थाबारे जानकारी लिएको बताएका थिए । उनले सुरक्षा निकायका प्रमुखहरूले देशको सुरक्षा अवस्थाका विषयमा चिन्ता लिनुपर्ने स्थिति नरहेको आफूसँग बताएको जानकारी दिए ।
अहिले व्यवस्था विरोधीहरू सल्बलाउन थालेको बताउँदै प्रधानमन्त्री दाहालले गणतन्त्र पक्षधरहरू एकजुट भएर व्यवस्था विरोधीहरूलाई तह लगाउने बताए । व्यवस्था विरोधीका अराजक गतिविधि सरकारले सहेर नबस्ने भन्दै उनले व्यवस्था रक्षाका लागि सबै दल एकठाउँ उभिने दाबी गरे ।
१२ बुँदे पक्षधरहरू गणतन्त्र, संघीयता लगायतका उपलब्धि रक्षाका लागि एकै ठाउँ उभिएको दाबी गर्दै उनले व्यवस्था विरोधीका कृयाकलापलाई सरकारले नजिकबाट नियालिरहेको बताए । केही व्यवस्था विरोधीका गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेपनि सजग बन्नु पर्ने स्थिति भने रहेको उनको भनाई थियो ।
व्यवस्था माथि धावा बोल्नेवालालाई आफूहरूले केही गरिरहनु नपर्ने भन्दै उनले जनताले नै ठिक पार्ने बताए ।
मंसिर ७ गते गणतन्त्र पक्षधर र गणतन्त्र विरोधीले काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरिरहँदा प्रधानमन्त्री दाहालले सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिनुलाई केहीले सकारात्मक रुपमा लिएका छन् ।
केहीले भने दुवै पक्षलाई सो दिनको विरोध प्रदर्शन फिर्ता लिनका लागि आग्रह गरेका छन् । मुठभेडको स्थिति निम्तिन नदिन दुवैले संयमता अपनाउनुपर्ने उनीहरूको भनाई छ ।