
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई करोड अडियो प्रकरणमा आफू, आफ्ना सांसद डा.ढाका कुमार श्रेष्ठ मात्र नभई आफ्ना वरपरका व्यक्तिलाई पनि छानबिन गर्न आग्रह गरेका छन् ।
१० वैशाखमा हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूलाई सम्बोधन गर्दै रास्वपाका उम्मेदवारलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको बताएका छन् ।
‘दोषी ठहर भए अर्को व्यक्तिलाई सांसद ल्याउछौँ । मेरै वरपर भएका व्यक्तिलाई पनि छानबिन गर्नुस् । मैले ९ महिनामात्रै भयो चिनेको । मेरो नाम लिएर कसैले भजाएछ भने त्यो कारबाहीको भागीदार हुनेछ,’ सभापति लामिछानेले भने ।
उनले आफू सत्यको बाटोमा रहेको बताउँदै विचलित नहुने बताए । ‘सत्यको बाटोमा छु । विचलित हुने छैन । ९ महिनाअघि सुरु भएको यो पार्टीमा हजारौँ जोडिनुभएको छ,’ उनले भने, ‘विश्वासको आधारमा जोडेका हौँ । विश्वास घात गर्नेलाई कारबाही गर्ने ल्याकत छ । मलाई कहिँ पनि नछोड्नुहोला गलत क्रियाकलापमा भेटेमा ।’
रास्वपाका सांसद डा.श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।













