News Griha :: न्यूजगृह
छठको तयारी सुरु : सिंगारिन थाले जलाशय

काठमाडौं– तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ ।

विशेष गरी तराई मधेशमा मनाईने छट पछिल्ला वर्षमा काठमाडौं उपत्यकालगायत पहाडि भेगमा समेत मनाउन थालिएको छ । 

जनकपुरको प्रसिद्ध गंगासागरलगायत, विभिन्न जलाशय तथा काठमाडौंको पशुपति क्षेत्रस्थित गौरीघाटलगायतका क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको हो ।

गौरीघाटमा छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम सुरु गरेको हो । 

छठ पूजाको सबै तयारी अन्तिम चरणमा पुगेको भन्दै बत्ति, टेन्ट सबैको काम भईरहेको गौरीघाट छठ पूजा व्यवस्थापन समिति अध्यक्ष अनिलकुमार सिंहले जानकारी दिएका छन् ।

उनले भने, ‘सबै तयारी अन्तिम चरणमा छ, यहाँ मुख्य कुरा भनेको सरसफाई हो हामीले खोलाहरू सफा गरेका छौँ । यसको साथै बत्ति, टेन्ट सबैको काम भइरहेको छ ।

२ दशकभन्दा बढि समय भयो यहाँ छठ मनाउन थालिएको, यहाँ घाटमा धेरै नै फोहोर छ, पशुपति विकास कोषले हेर्छ । तर, जति हुनुपर्ने त्यही भएको छैन् । यहाँ ४ देखि ५ लाख मानिस आउँने गर्छन्, वर्तालु ५ सयभन्दा बढि हुँदैन ।’ 

गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौंका २१ स्थानमा पूजा स्थलको निर्माण सुरु गरिएको छ । 

गौरीघाटस्थित बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ती एवं छठी माताको मूर्ति राख्ने काम जारी छ ।

पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौंमा पनि भव्यरुपमा मनाउन थालिएको छ । 

यस वर्ष मंसिर ३ गते आइतबार छठ पर्वअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । त्यस दिन राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने जनाइएको छ ।

यस्तै, मंसिर ४ गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १५:४७
Weather Update