News Griha :: न्यूजगृह
अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ : प्रधानमन्त्री प्रचण्ड

तनहुँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् । 

नेकपा माओवादी केन्द्र तनहुँले आज (शुक्रबार) आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले विभिन्न रूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ । एकथरी तत्व कुनै न कुनै रूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन् । प्रतिगमनका निम्ति मलजल गरिरहेका छन् ।’

परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे ।

उनले भने, ‘नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हकअधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ ।’ सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाइ थियो । 

पार्टीले जनताका घरघरमा पुग्ने कार्यक्रमसहित रुपान्तरण अभियान अगाडि बढाएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘गण्डकी प्रदेशमा यो अभियान ठिक ढङ्गले अगाडि बढेको छ । अभियानलाई एक महिना विस्तार गरिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि जनतासँग माओवादी अभियानले जनतामाझ माओवादी र देशका लागि औपचारिक अभियानमात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १३:१९
Weather Update