News Griha :: न्यूजगृह
सिंहदरबार भित्रको शौचालय म आफैँ सफा गर्छु : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा राना मगरले सबैले सरसफाइबारे जनचेतना फैलाएर राम्रो संस्कार विकास गर्नुपर्ने धारणा राखेकी छन् ।

विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रममा रानाले सबैले आफ्नो घर तथा अफिसबाटै सरसफाइको संस्कार विकास गरी स्वच्छता कायम राख्नुपर्ने धारणा राखेकी हुन् ।

उनले आफूले घरसँगै कार्यस्थल, त्यो पनि सिंहदरबार भित्रको शौचालय सफा गर्ने गरेको दाबी समेत गरिन् ।

आफ्नो घरमा स्वच्छता कायम राख्न सबैलाई आग्रह गर्दै उनले भनिन्, ‘सिंहदरबार भित्रको मेरो अफिसको शौचालय सफाई गर्न म सफाई गर्ने दिदीलाई पर्खेर बस्दिनँ, आफैँ सफा गर्छु । त्यो ट्वाइलेट धेरै पुरानो भएको हुनाले फोहोर हुन्छ, म सधैँ गएर त्यसलाई घोट्छु । सफाई भन्ने कुराको सुरुवात आफूबाट हुनुपर्छ । जनचेतना फैलाएर हामीले राम्रो संस्कार विकास गर्नुपर्छ ।’

उनले सरकारी कार्यालयमा रहेको शौचालयहरू निकै फोहोर हुने गरेको पाइएको बताएकी छन् ।

रानाले संघीय संसद् भवनभित्र सांसदहरूले प्रयोग गर्ने ट्वाइलेटको अवस्थाबारे प्रष्ट्याउँदै भनिन्, ‘पार्लियामेन्ट सकिएपछि एकदिन म मर्यादापालक साथीहरूलाई लिएर संसद् भवन भित्रको शौचालय हेर्न गएँ । शौचालय प्रयोगपछि पूरुष माननीयज्यूहरूले फ्लस समेत नगर्ने रहेछन् । महिला माननीयज्यूले त प्याडको प्रयोगपछि डस्टनिमा समेत नहाल्ने गरेको पाएँ । मैले त्यो सन्दर्भमा मिटिङ नै कुरा राखेँ ।’

रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताउँदै हरेक व्यक्तिले ठूला घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने धारणा राखिन् । उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने समेत बताइन् ।

‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थें । सबैले घर बनाउँदै जाने दुई÷तीन जनाका लागि भने कहाँ बच्छ ? सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने’ रानाले भनिन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:४९
Weather Update