
काठमाडौं— भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको बिस्का (बिस्केट) जात्रा सुरु भएको छ ।
तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । जात्रा २७ चैत्रदेखि ५ बैशाखसम्म मनाइन्छ ।
बिस्केट जात्राको पहिलो दिन तीन तले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरी साँझ रथ तानेर जात्रा सुरु हुन्छ । स्थानीयले रथ तानेर आ–आफ्नो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । यस जात्राको मुख्य आकर्षण भनेको भैरवनाथको रथ तान्नु हो ।

पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रामा हुल दङ्गा हुन नदिन र शान्तिपूर्णरूपमा जात्रा सम्पन्न गराउन आवश्यक तयारी गरिएको बताए ।
प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीका अनुसार जात्राका लागि झण्डै सात सय सुरक्षाकर्मी खटाइएको छ ।














