
काठमाडौं— द्वन्द्वग्रस्त अफ्रिकी देश मालीस्थित राष्ट्रसंघीय शान्ति मिसन (मिनुस्मा) बन्द भएको छ । सोही कारण मालीमा तैनाथ शान्ति सेना फर्किन थालेका छन् ।
माली सरकारकै निरन्तर दबाबपछि मिनुस्मा मिसन बन्द भएको हो । राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि मालीबाट शान्ति मिसन बन्द गर्ने निर्णय गरिसकेको छ ।
मालीमा नेपाली सेनाका एक सय ६८ जना शान्ति सैनिक कार्यरत छन् । मिसन बन्द भएसँगै उनीहरू स्वदेश फर्किन थालेका छन् । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार बिहीबारमात्रै ८१ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन् ।
प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीहरूसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा उनीहरु स्वदेश फिर्ता भएका हुन् । थप शान्ति सैनिक फर्किने क्रममा रहेको पनि उनले जानकारी दिए ।
सुरक्षाको दृष्टिकोणले माली मिसन सबैभन्दा जोखिमपूर्ण मिसन बनेको थियो । जहाँको सेनासँग समेत राष्ट्रसंघको सम्बन्ध सुमधुर हुन सकेन । शान्ति स्थापनाका कार्यमा त्यहाँको सेना र सरकारले असहयोग गरी आफ्नो देशबाट हट्न दबाब दिँदै आएको थियो ।
सन् २०१३ मा उत्तरी मालीमा एक समूहले हिंसात्मक संघर्ष सुरु गरेपछि राष्ट्रसंघीय शान्ति मिसन स्थापना भएको हो । यो मिसनमा एक सय ७० भन्दा धेरै शान्ति सैनिकले ज्यान गुमाइसकेका छन् ।