
मुगु— छाँयानाथ रारा नगरपालिका ५ ढुमगाँउकी ४० वर्षीय नानीभाउ बिकको शरीरको तल्लो भाग अपाङ्ग छ । जन्मजातै शरीरको तल्लो भाग अपाङ्ग रहेकी उनलाई गाउँमा सबैले फोहोरी अपाङ्ग भनेर हेप्ने गर्छन् । दिशापिसाब गर्न समेत समस्या भएपछि उनका बुबाले १० वर्ष पहिला नै गमगढी ताल्च सडकको छेउमा सानो टिनको टहरा बनाई राखेका छन् ।
अपाङ्ग भएकै कारण बोझ भई भनेर आफ्नै परिवारबाट अपहेलित हुनु परेको अपाङ्ग बिक बताउँछिन् । गाउँघरमा सबैले अपाङ्गी भनेर हेप्ने गरे पछि बुवाले अर्काको जमिनमा सानो टिनको टहरमा बनाएर राखेको भन्दै एक्लै बस्दा बिरामी हुँदा हिँड्न, खानबस्न, दाउरा, पानी ल्याउन पनि निकै समस्या भएको उनको भनाई छ ।
भनिन्, ‘म जन्मजातै अपाङ्ग भएको आमाबुवाले बताउँछन् । आमाको मृत्यु भइसक्यो, भाइबुहारी अलग बस्छन् र कहिलेकाहीँ सहयोग गरेपनि, बोझ भई भनेर हेप्छन्, गाउँघरमा सबैले अपाङ्ग भनेर हेप्ने गरे पछि बुबाले अर्काको जमिनमा सानो टहरा बनाई दिएको १० वर्ष बित्यो, अहिले म ४० वर्ष पुगे तर बिरामी हुँदा हिँड्न, खानबस्न, दाउरा, पानी ल्याउन पनि निकै समस्या हुन्छ ।’
हिउँदका दिनमा धेरै चिसो, बर्खामा हिलो र पानी टहरा भित्र आउने गरेको गुनासो गर्दै उनले थपिनन्, सडकको छेउमा बास हुँदा गाडीको धुवाँधुलोले स्वास्थ्यमा थप समस्या हुने गरेको छ । नानीभाउका बुबा धर्मसिंह कामीले आफैँलाई खानलाउन समेत समस्या भएको कारण छोरीलाई केही गर्न नसकेको भन्दै सहयोगको लागि आग्रह गरेका छन् ।
उनले भने, ‘सडकको बास छ । कोठा भित्र धुवाँ, धुलो र पानी आउने गरेको छ । आमा छैन, म बुढेसकालको बुबा मलाई आफैँ खान छैन, यहाँ छोरीको बिचल्ली छ कुनै मनकारी व्यक्तिले केही गाँसबास, लत्ताकपडाको सहयोग गरी दिन आग्रह गर्दछु ।’
चिसो लागेसँगै दाउरा लिन, पानी भर्न पनि समस्या हुँदा नानीभाउलाई कहिलेकाहीँ भोकै रात कटाउनु पर्ने बाध्यता रहेको छिमेकीहरूको भनाई छ ।
०७२ सालमा जारी भएको संविधानमा समानुपातिक, समावेशी, सहभागितमूलक सिद्धान्तका आधारमा विभेदरहित आर्थिक समानता, समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने संकल्प सहित संविधानको धारा ३९ को उपधारा ९ मा ‘असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।’ भनिएको र धारा ४२ को उपधारा ३ मा ‘अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ ।’ भनिएता पनि मुगुकी नानीभाउ जस्तै अपाङ्ग भएकै कारण नागरिकहरू बिचल्लीमा पर्ने गरेका छन् ।
नेपालको जनगणना २०७८ अनुसार मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा कुल जनसंख्या २४ हजार ५ सय २७ जना रहेकोमा अपाङ्गता भएकाहरू ६ सय ३७ जना रहेका छन् ।
छाँयानाथ रारा नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायाका अनुसार पालिकाभर अपाङ्गता भएका नागरिकहरूको पहिचानका लागि न्यायिक समितिले छुट्टै संयन्त्र बनाई काम गरिरहेको र अपाङ्गहरूको वर्गीकरणसमेत गरिएको छ ।
उनले चुनावपश्चात् पालिकाभर एकपटक अपाङ्गता भएकाहरूलाई विभिन्न लत्ताकपडा तथा आवश्यक सामग्रीहरू वितरण गरिएको र नियमित रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दाबी पनि गरेका छन् । नानीभाउ एक नमूना मात्र हुन्, देशभर राज्यका तीनै तहका नीति निर्माणकर्ताहरूले यस्ता धेरै नागरिकहरूलाई महत्वका साथ नहेरेको देखिन्छ ।