जुवा खालबाट पक्राउ परेका पूर्वउपरथी सहित ८ जनालाई शुक्रबार जिल्ला प्रशासन लगिने

काठमाडौं— ललितपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेका ८ जनालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा उपस्थित गराउने भएको छ ।
मंगलबार हात्तीवनस्थित क्लासिक टावर ब्लक 'ए' को १६ औं तलाबाट नेपाली सेनाका पूर्वउपरथी होम लावतीसहित ८ जनालाई पक्राउ गरेको थियो । अन्य भने व्यवसायी हुन् ।
उनीहरूको साथबाट प्रहरीले १६ लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो ।
उनीहरूलाई जरूरी पक्राउ पुर्जी दिएर प्रहरीले हिरासतमा राखेको छ। तिहारको सार्वजनिक बिदा भएकाले शुक्रबार उनीहरूलाई प्रशासनमा हाजिर गराउने तयारी छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन। तिहारको समयमा पक्राउ परेका उनीहरूलाई भाइटीका गर्न प्रहरीले सहजीकरण गरिदिएको थियो। अहिले उनीहरू हिरासतमा छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८० १६:५९













