सिन्धुली कारागारका एक जना थुनुवाको मृत्यु

काठमाडौं— सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।
दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए ।
बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको प्रवक्ता दाहालले बताए ।
बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको दाहालको भनाइ छ ।
विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । पोस्टमार्टमपछि थप अनुसन्धान हुने प्रवक्ता दाहालले बताए ।
मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८० ११:०२













