
बाँके— नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको हो । राति करिब १२ बजेतिर लागेको आगो बुधबार बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।
उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब ४० लाख बराबरको क्षति भएको सञ्चालक सुरेशकुमार शाहले बताए । उनका अनुसार गोदामभित्र रहेको ५० हजार ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टा बोरा, केही प्लास्टिक बोरा र काठ जलेर नष्ट भएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी प्रवक्ता डाँगीले बताए । दुईवटा वारुणयन्त्र, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।













