
काठमाडौं— महोत्तरी प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका– २ का ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान घाइते भएका हुन् । उनीहरूको बायाँ खुट्टामा गोली लागेको छ । उनीहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । उनीहरु डकैतीमा घटनामा संलग्न रहेको दाबी प्रहरीको छ ।
गत कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका-८ सानो रतवारामा डकैती भएको थियो । उनीहरूसहित ७/८ जनाको समूहमा आएका डाँकाहरूले भुवनेश्वर चौधरीको घरमा हतियार देखाएर लुटपाट गरेका थिए ।
त्यसक्रममा घरपरिवारका सदस्यहरूलाई कुटपिट गरी ४० तोला सुनका गहना, चाँदीको ४५ तोला गहना, आई फोन एक थान र नगद १ लाख ७५ हजार डकैती भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका मंगलबार दिउँसो रौतहटको गरुडाबाट दुवैजनालाई पक्राउ गरेर महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको हो ।
उनीहरूमाथि तीन राउन्ड गोली प्रहार गरेर पुनः पक्राउ गरिएको डीएसपी गिरीले बताए । शक्तिको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ४ राउन्ड गोली समेत बरामद भएको प्रहरीको दाबी छ ।