
काठमाडौं—भाइटीकाका दिन आज पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिकदेखि सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
'आज देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगमा आंशिक बदली र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,' मौसमविद् मानन्धरले भनिन् । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन नसक्ने मानन्धरको भनाइ छ ।













