काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान गर्ने बताएका छन् । साेमबार बिहान चितवनमा सञ्चारकर्मीको प्रश्नको उत्तमा गृहमन्त्री श्रेष्ठले भने अडियो अनुसन्धान गरी सो अनुसार अगाडि बढ्ने बताएका हुन् ।
‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ,’ सञ्चारकर्मीलाई गृहमन्त्रीले भने ।
रास्वपाका सांसद डा.श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । अडियोमा सांसद श्रेष्ठले रास्वपा समापति रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन् ।
अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ ।














