News Griha :: न्यूजगृह
काठमाडौंबाट 'हाईप्रोफाइल' जुवाडे पक्राउ, छुटाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको दबाब   

काठमाडौं— कौडा खेलिरहेका २२ जना 'हाईप्रोफाइल' व्यक्तिहरू काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गैरआवासीय नेपाली सङ्घमा आबद्ध २ जना अभियन्तासमेत छन् । यस्तै, नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् । 

काठमाडौंको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरूको साथबाट ४ लाख ९२ हजार नगद र कौडा १६ थानसमेत बरामद भएको छ ।  'हाईप्रोफाइल' व्यक्तिहरू पक्राउ परेकाले उनीहरूलाई छाड्न तीव्र दबाब आइरहेको प्रहरी स्रोतको दाबी छ ।

उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । 'हाईप्रोफाइल'  भएकैले छाड्न तीव्र दबाब आइरहेको जिल्ला प्रहरी परिसरका एक अधिकृतले दाबी गरे । पक्राउ पर्नेमा प्रहरी हाकिमका आफन्तसमेत छन् ।

पक्राउ पर्नेमा सरोज अधिकारी, श्याम बाबु तामाङ, टेक बहादुर (टीबी) कार्की, सञ्जय मुडभरी, नवराज तामाङ, चित्र तामाङ, विष्णुलाल लामा, कुमार खड्का छन् ।  यसैगरी अम्बिर अधिकारी, भुवन दाहाल, लोप्साङ लामा, प्रताप दानी, लोकबहादुर बोहरा, केशवराज अधिकारी, भरत बोहरा, राजु जीसी, विशाल तामाङ, विकास खत्री, लोकबहादुर तामाङ, निरबहादुर वाइबा, रामबहादुर लामा र लोकबहादुर श्रेष्ठ छन् ।

प्रहरी स्रोतका अनुसार टीबी कार्की र मुडभरी एनआरएनएमा आबद्ध छन् । कार्की एनआरएनएका पूर्वउपाध्यक्षसमेत हुन् । यस्तै यस्तै दानी नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष समेत हुन् । उनलाई छुटाउन माओवादीले लबिङ गरेको प्रहरीको भनाइ छ भने कार्कीलगायतलाई छाड्न नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका केही नेताले समेत प्रहरीलाई आइतबार रातिदेखि नै दबाब दिएको छ ।

राजु जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अंगुर जीसीका भाइ हुन् । उनी नेपाली कांग्रेस निकट नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय समितका पदाधिकारीसमेत हुन् ।

पहुँचवालाहरूले पक्राउ परेकाहरूलाई छाड्न निरन्तर दबाब दिनुका साथै माथिल्लो निकाय जिल्ला प्रहरी परिसरमा समेत उस्तै दबाब आइरहेको प्रहरी स्रोतको भनाइ छ । पक्राउ परेका उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूको हिरासतमा राखिएको छ । 'पक्राउ परेका जुवाडे पहुँचवाला रहेछन् । उनीहरूलाई छुटाउन गृहमन्त्री, प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताहरूले दबाब दिइरहेका छन् । प्रहरी उच्च तहबाट समेत उनीहरूलाई छोडन दबाब आइरहेको छ,' प्रहरी स्रोतले भन्यो । 

जुवाडेलाई कारबाही गर्न के छ कानुनी व्यवस्था

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजायको व्यवस्था गरेको छ।

उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था छ। यसैगरी दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने व्यवस्था छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १६:०३
Weather Update