News Griha :: न्यूजगृह
वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै फलफूलको राजा अर्थात् किबीखेती

फुङ्लिङ— ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किबीखेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किबी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ ।

फुङ्लिङ नगरपालिका–११ का बमबहादुर भट्टराईले अलैँची बगानमा किबी खेती विस्तार गदै लगेका छन् । अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचढाव आइरहने भएकाले अलैँचीको विकल्पमा किबीखेती विस्तार गर्दै लगिएको उनको भनाइ छ । सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गएपछि शुक्रराज लिम्बूले पर्यटकीय क्षेत्रमा किबीखेती विस्तार गरेका छन् । 

लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भयो । छरछिमेक घर छोडेर बसाइ सरेर गए । पर्यटकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्न थाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् । घर भने त्यतिकै छ ।

लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खोजी गर्न थालेका हुन् । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किबीखेतीले लिम्बूको मन तान्यो । लालीखर्कका फाँटमा किबीको बोट झाङ्गिन थालेको छ । सात रोपनी क्षेत्रफल जमिनमा किबीखेती विस्तार गरेको उनले बताए ।

अर्को वर्षदेखि व्यावसायिक उत्पादन हुने उनको भनाइ छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङले किबी किसानलाई पाँच लाख अनुदान दिएको छ । जिल्लामा पछिल्लो समय किबी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किबीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् ।

खेतीमा संलग्न किसानले किबी फल आम्दानीको राम्रो स्रोत बनेको बताउने गरेका छन् । फुङ्लिङ –७ का स्थानीय राजकुमार गुरुङले आफ्नो चार रोपनी क्षेत्रफल बराबरको जमिनमा किबी खेती लगाएको र सोबाट राम्रो आम्दानी भइरहेको बताए । उनले कोदोजस्ता खेती गर्ने बारीमा किबीखेती विस्तार गरेका छन्।

छ वर्षअघि व्यावसायिक किबी खेती सुरु गरेका गुरुङले तीन वर्षयता किबी खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनले गत वर्ष किबीबाट दुई लाख ५० हजार आम्दानी गरेको र यस वर्ष पनि हाल धमाधम किबी बिक्री गर्न सुरु भएकाले राम्रै आम्दानी हुनेमा विश्वस्त रहेको उनले बताए ।

उनका अनुसार यस वर्ष किबीको बजार मूल्य पनि राम्रो रहेको छ । उनीजस्तै जिल्लामा धेरै किसानले किबीको व्यावसायिक खेती गर्दै आएका छन् । फुङ्लिङ नगरपालिकाबाहेक सिरिजङ्घा , फक्ताङ्लुङ , सिदिङ्वा, मैवाखोला गाउँपालिका लगायतका क्षेत्रमा स्थानीय किसानले व्यावसायिक किबीखेती लगाएका छन् । एक पटक बिरुवा रोपेपछि धेरै वर्षसम्म फल्ने भएकाले किबीबाट राम्रो फाइदा हुने सिरिजङ्घा –५ पेदाङका स्थानीय खेलप्रसाद बूढाक्षेत्रीले बताए ।

सुरुमा जिल्लामा किबी खेती विस्तार गर्नुपर्छ भनेर विभिन्न किसानलाई प्रेरित गर्दै किबीखेतीका अभियन्ताका रूपमा परिचित बूढाक्षेत्रीले किबी आम्दानीको भरपर्दो र राम्रो स्रोत भएको बताउँछन् । आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किबी फलका लागि व्यवस्थित बजारको आवश्यक रहेको उनको भनाइ छ । उनले भने, 'बजार अभावका बाबजुद किसानले खेतीमा गरेको लगानीअनुसार निकै राम्रो आम्दानी गरिरहेका छन् ।'

किबीको स्थानीय बजार मूल्य प्रतिकेजी दुई सय ५० सम्म रहेको छ । हाल किबीको मौसम सुरु भएसँगै अर्थात् पाक्न थालेपछि धमाधम बिक्री गर्न सुरु गरेको किसानको भनाइ छ । सदरमुकाम फुङ्लिङसहित स्थानीय बजारमा किबी बिक्री गर्दै आएका किसानले जिल्ला बाहिर झापा, मोरङ र सुनसरीलगायतका व्यापारीबाट पनि किबीको माग हुन थालेको किसान अमृता गुरुङले बताउँछन् ।

फलफूलको राजा उपनामले परिचित फल किबीले बजार विस्तार हुँदै गएको छ । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किबीको राम्रो बजार देखेपछि किबीखेतीप्रति प्रभावित भएर किबीखेती गर्न थालेका छन् । ताप्लेजुङमा सात/आठ वर्षअघिदेखि किसानले किबीखेती सुरु गरेको पाइन्छ ।

अहिले धेरै किसानले व्यावसायिकरूपमा किबीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किबी उत्पादन हुन थालेसँगै बजारमा किबीको माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा सुरुमा प्रतिकिलो छ सयसम्म खरिद/बिक्री भएको किसानहरूको भनाइ छ । 

फक्ताङ्लुङ –४ इखाबुका स्थानीयवासी बुद्ध काम्बाङले पनि किबीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताए । शीतभण्डारको व्यवस्था भएमा किबीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उनको भनाइ छ । किबीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १०:५९
Weather Update