
बाँके— जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् ।
अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
'सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अव भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ,' उनले भने, 'उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।' भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि उक्त वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।
घाइतेमध्ये तीन जनालाई थप उपचारको लागि काठमाडौं रेफर गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन् ।
भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो ।













