
काठमाडौं— चीनले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर ताइवानका लागि ‘कडा चेतावनी’ दिएको छ ।
ताइवानका राष्ट्रपति साइ इङ्ग वेनको अमेरिकी भ्रमणपछि आक्रोशित चीनले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर चेतावनी दिएको हो । उनी गत हप्ता अमेरिका भ्रमणमा गएकी थिइन् ।
ताइवानका अनुसार आइतबार करिब ७० चिनियाँ विमान सीमा नजिकैबाट उडेका थिए। शनिबार भने ४५ चिनियाँ लडाकु विमान ताइवान स्ट्रेट लाइनमा आएका थिए भने दुई देशको सिमा रेखा पार गरेर दक्षिणपश्चिम भागमा उडान भरेका थिए ।
सैन्य अभ्यासको पहिलो दिन चिनियाँ जहाज पिङटान टापु नजिकैबाट गुज्रेको थियो भने तीनले गोलाबारीसमेत गरेका थिए । यो टापु ताइवानको सबैभन्दा नजिक छ। चीनले सो सैन्य कारबाहीलाई ‘जोइन्ट सोर्ड’ नाम दिएको छ । यो अभियान सोमबारसम्म जारी रहनेछ । ताइवानको काउन्सिल फर ओसन अफेयर्सले जारी गरेको भिडिओ फुटेजमा भने ताइवानी जहाजले चिनियाँ युद्धपोतलाई पछ्याइरहेको देखिन्छ।
यसैगरी, अर्को भिडिओमा ताइवानको युद्धपोत डी ख्वा र कोस्ट गार्डको जहाज देख्न सकिन्छ जसमा कोस्ट गार्डका अधिकारीहरूले चिनियाँ डुङ्गालाई चुनौती दिइरहेका छन्।
ताइवानको प्रशासन भने चीनको यो अभियानप्रति आक्रोशित छ। ताइवानका रक्षा अधिकारीहरूले राष्ट्रपति साइइङ्गवेनको अमेरिका भ्रमणको बहानामा सैन्य अभ्यास गरिरहेको आरोप लगाएका छन्।













